Orientation Workshop for Subject Committee members

विषय समितिकालागि अभिमुखीकरण कार्यशाला

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले २०७४ कात्तिक २४ गते शैक्षिक गुणस्तर परीक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ अनुसार गठित विभिन्न विषय समितिका अध्यक्ष तथा सदस्यहरूका लागि  एक दिने अभिमुखीकरण कार्यशाला सञ्चालन गरेको थियो ।  कार्यशालामा विषय समितिका अध्यक्ष तथा सदस्यहरू तथा केन्द्रका अधिकृतहरू गरी ४० जना सहभागी थिए । केन्द्रका उपसचिव रूद्र अधिकारीले सहभागीको स्वागत गर्नुका साथै केन्द्रद्वारा सञ्चालित कार्यक्रमहरू र  विषय समितिको भूमिकाका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो भने शाखा अधिकृत देवीराम आचार्यले  शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्वारा सञ्चालित विद्यार्थी उपलब्धि परीक्षण र यसको औचित्य, आवश्यकता र प्रक्रियाका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । सहभागीहरूले परीक्षण कार्यलार्इ थप प्रभावकारी बनाउने सम्बन्धमा छलफल गर्नुका साथै आफ्ना राय तथा सुभावहरू पेस गर्नु भएको थियो । सहभागीका तर्फबाट गणित, नेपाली र अङ्ग्रेजी विषय समितिका अध्यक्षहरू क्रमश प्राध्यापक हरिप्रसाद उपाध्याय, प्राध्यापक पारसमणि भण्डारी र डा.  विनोद लुइटेल‍ले  यस कार्यशालाको उपादेयताका बारेमा उल्लेख गर्दै आआफ्ना अनुभूति प्रस्तुत गर्नु भएको थियो ।  उहाँहरूले परीक्षण कार्यलार्इ थप प्रभावकारी बनाउनका लागि विषय समितिको अध्यक्षका रूपमा सक्रिय योगदानको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यशालाको अन्तिम चरणमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रका सहसचिव डा. लेखनाथ पौडेलले केन्द्रद्वारा सञ्चालित विभिन्न परीक्षणहरूले शैक्षिक गुणस्तर सुधारका लागि केकसरी पृष्ठपोषण दिन सक्छन् भन्ने कुरा प्रस्तुत गर्दै परीक्षणलार्इ प्रभावकारी बनाउन विषय समितिको महत्वपूर्ण भूमिका रहेकोले सबै विषय समितिबाट सक्रिय योगदान हुने विश्वास व्यक्त गर्नुका साथै कार्यशालामा सहभागी सबैलार्इ धन्यवाद ज्ञापन गर्नुभएको थियो ।